Tuesday, February 5, 2013

अङ्क २ ∙ सम्पादकीय


तर सम्बोधन कसलाई?

ल्याम्पपोस्टमाथि उभिरहेकी केटीले न्याय मागिरहेकी छिन्। दिल्लीमा सामूहिक बलात्कारको सिकार भएकी केटीको निम्ति न्याय, हिंसा र अत्याचार सहनु परेकी प्रत्येक नारीको निम्ति न्याय, अनि अन्याय र असमानतारहित संसारतर्फ बढ्नलाई सङ्घर्ष गरिरहेको समूहको निम्ति न्याय। यही आजका जनताको, विशेष गरी युवाहरूको माँग छ। तर यो केटीले को समक्ष यस्तो माँग गरिरहेकी छिन्? कसले उसको आवाज सुनिरहेको छ? यो ती लाखौँ मानिसहरूको आवाज जसले हामी एउटा स्वतन्त्र, समान र आत्मसम्मानले भरिएको संसार चाहन्छौ भन्ने माँग प्रतिध्वनित गरिरहेछन्।

     तर सम्बोधन कसलाई? राजनैतिक नेता भनाउदाहरू, सरकारको वार्ताकार-हरूलाई? स्व-घोषित जनता र देशको प्रतिनिधिहरूलाई? दिल्ली सामूहिक बलात्कारको घटना पछाडि यी समाजका ठेकेदारहरूको क कस्तो प्रतिक्रिया र टिप्पणीहरू थियो त्यसको एउटा सानो झलक यहाँ प्रस्तुत छ........

     राष्ट्रपतिको छोरा, र सत्तारुढ पार्टीको वरिष्ठ नेता अभिजित मुखर्जीले एउटा टेलिभिजन च्यानेलमा बोल्दै ती जम्मै प्रदर्शनकारी महिलाहरू जो पनि इन्डिया गेट अघि थुप्रेका थिए तिनीहरू एकदमै कृतिम सुन्दरताले भरिएको दुनियाँभरको लिप-घस गरेर रातिउधो डिस्कोमा नाचेर त्यसपछि सिधै इन्डिया गेट आएर बलात्कार विरुद्ध नारा लगाउछन् र वास्तविक दुनियासंग बेखबर हुन्छन् भन्ने वक्तव्य दिए। उक्त वक्तव्यको निम्ति उनले पछिबाट क्षमा पनि मागे।

     सी.पी.आई.एम. का नेता अनिसुर रहमानले प. बंगाल सरकारको बलात्कृत वा बिक्री भएकी महिलाहरूलाई क्षतिपूर्ति दिने निश्चयप्रति व्यंग कस्दै भने ‘‘हामीले संसदभवनमा मुख्यमन्त्रीलाई भन्यो कि तपाईँको शुल्क कति हो? बलात्कृत हुनलाई तपाई कति लिनुहुन्छ? कारण सरकारले त क्षतिपूर्तिको रकम राशि तपाईलाई दिईहाल्नेछ।"

     अनिसुरको यस्तो वक्तव्यको उत्तर दिँदै तृणमूल काँग्रेसका वरिष्ट नेता डा. काकोली घोषदस्तीदारले एउटा समाचार च्यानेलमा भने ‘‘एकवर्ष अघिको पार्क स्ट्रिट बलात्कार घटनालाई हेर्दा हामी के पाउछौ भने उक्त घटना एकदमै अर्कै सन्दर्भ भएको थियो। त्यो त बलात्कारको घटना ट्याक्कै थिएन, त्यो यौन कर्मी महिला र उसको ग्राहकमाझ भएको भुलबुझाई मात्र थियो। बलात्कार भने थिएन।’’

     आर.एस.एस. प्रमुख मोहन भागवत अनुसार बलात्कारको घटनाहरू भारतीय संस्कृतिको ह्रास र पश्चिमी संस्कृतिको प्रभावले बढेको हो। उनले भने ‘‘इन्डियाको शहरी इलाकामा यस्तो घटनाहरू घट्नु एकदमै लज्जास्पद कुरो हो। यो डरलाग्दो चलन हो। तर यस्तो घटनाहरू भारतको गाँउले इलाकातिर कहिल्ये हुने गर्दैन। तपाई देशको कुनैपनि गाउँ वा जङ्गलमा जानुहोस् त्यहाँ यस्तो सामूहिक बलात्कार र यौन अपराधहरू घटेको पाइन्दैन।’’। तर वास्तव यस्तो होइन, गाउँले इलाकामा ज्यादै बलात्कारका घटना हुन्छ। अझ थप्दै महिलाहरूले घरकै धन्धा गर्ने र पुरुषहरूले कमाई गरे उचित हुनेछ भनेर तीनले भने।

     देशव्यापी यौन अत्याचारको घटनाहरूलाई विशिष्ट रूपमा मध्य प्रदेशको सन्दर्भलाई केन्द्रित गर्दै टिप्पणी गर्न लाउदा भाजपाका नेता कैलाश बिजयभार्गीयले भने ‘‘एउटै शब्द छ –मर्यादा। जब मर्यादाको उलंघन हुन्छ, तब सिता-हरण हुन्छ। सबैजनाको निम्ति लक्ष्मणरेखा खिचिएको हुन्छ, त्यो लक्ष्मणरेखा जसले पार गर्छ, रावण छेउमै बसिरहेको हुन्छ र उसले सीताको हरण गरेर लैजान्छ।’’

     आन्ध्र प्रदेश काँग्रेस कमिटिको सभापति बोट्सा सत्यनारयनाले दिल्ली बलात्कार घटनालाई सानोतिनो घटना भन्दै, ‘‘भारतले आधारातमा स्वतन्त्रता पाएको हो भन्दैमा नारीहरू पनि आधारातमा बाहिर सडकमा घुम्नुपर्छ?’’ भने। त्यस्तो रातबिरात एउटा प्राइबेट बसमा चढ्नु अघाडिनै त्यो केटीले पछाडिको अवस्था सोच्नु पर्ने थियो र बसमा नचड्नु पर्ने थियो भन्ने विचार पनि उनले दिए।

     पुडुचेरी सरकारको स्कुल शिक्षण मन्त्री टि. थियागराजनले यौन अपराधहरू कम गर्नको निम्ति छात्राहरूको स्कुलमा लाउने लुगामा परिवर्तन गरिनु पर्छ र छात्राहरूले अनिवार्य रूपमा ओवरकोट लगाउनु पर्ने हुनेछ।

     आध्यात्मक गुरु आसाराम बापुले १६ दिसम्बरको सामूहिक बलात्कारको सिकार भएकी केटी आफैँ पनि ती दोषी मानिसहरू जसले त्यस केटीसंग त्यस्तो बर्बर अत्याचार गरे, तिनीहरू जत्तिकै दोषी हुन् भने। केवल ५-६ जना मानिसहरू मात्र दोषी छैनन्। बलात्कारको सिकार भएकी त्यो केटी पनि ती बलात्कारीहरू जत्तिकै दोषी छिन्... ‘‘उसले ती मानिसहरूलाई दाजु भनेर उनीहरूलाई आफूमाथि अत्याचार नगर्ने बिन्ती गरेकी भए आफ्नो ज्यान र सम्मान जोगाउन सक्थिन्।... एउटा हातले ताली बज्छ र? मलाई त यस्तो लाग्दैन’’— मिडियाले यसरी बापुको वक्तव्यलाई उल्लिखित गरेको छ।

     यी वक्तव्यहरू त केही झलकहरू मात्र हुन् र कहिले काही साधारण जनताहरूको मुखबाट पनि उक्त वाक्यहरू हामी सुन्छौ तर यो आशा गरिएकै थियो कि हजारौँ मानिसहरू हातमा मोमबत्ती, मशाल लिएर, पानीको मुस्लो सहेर, आँसु ग्यास, लट्ठी खाएर पनि यी नेताहरूको भनाइको विरुद्ध उत्रिनेछन्। सयौँ, हजारौँ र लाखौमानिसहरूले इन्टरनेटको माध्यम वा सडकमा ओर्लेर यसको जरासम्म पुग्ने र समाधान खोज्ने जमर्को गरे, नाराहरू दिए, गीतहरू गाए यो बलात्कारी व्यवस्थाबाट मुक्ति पाउनलाई र हामी त्यही आवाजको पक्षमा छौं।

No comments:

Post a Comment