Thursday, January 17, 2013

सरकारको एक माथि अर्को जनविरोधी नीति अनि बन्द चिया बगान ढेकलापाड़ा...


डुवर्स क्षेत्रमा लगभग २० वटा चिया बगान बन्द छ। ती चिया बगान मध्ये एक हो ढेकलापाड़ा। यो चिया बगान अगस्त २०, २००२ देखि बन्द छ। आमदानीको एउटै श्रोत त्यही चिया बगान यसरी अचानक बन्द हुदा, त्यहाँका करिब ६५० स्थायी लगायत अन्य धेरै अस्थायी श्रमिकहरूको अवस्था दैनन्दिन जिर्ण हुँदै गइरहेछ। बगान खुल्लै हुदा मालिकले ठगेर हैरान पारेका श्रमिकहरुलाई अचानक बगान नै बन्द हुदा, भारी माथि सुपारी भयो। जुनै पनि बिमारी लाग्दा दिइने त्यही सेतो ट्याब्लेट पनि अब नपाईने भयो। बिजुली, पानी, स्वस्थ, शिक्षामा पाइने थोरै सहुलियत पनि बिस्तारै बन्द भयो।

     यही चिया बगानका १५ जना श्रमिकहरुले उनीहरूको खाने व्यवस्था गरिदिईयोस अथवा तिनीहरुलाई इच्छा मृत्युको अधिकार दिईयोस भन्ने आवेदन गर्दै बितेको नवेम्बर महिनामा मुख्यमन्त्रीलाई चिठी लेखे। कारखाना बन्द भएको खण्डमा पाइने भत्ता (फौलाई) पनि यी १५ श्रमिक मध्ये १२ जाना जसको उमेर ५८ भन्दा माथि छ, भत्ता पाएका छैनन्। यो भत्ता पनि उक्त बगानका ६५० स्थायी श्रमिक मध्ये केवल ४५० जनले पाउदैछन् र पाउनेहरूले पनि नियमित रूपमा पाएका छैनन्।

     एक हप्तामा २ रुपियाँ प्रति किलो गरी प्रति व्यक्तिले दुई केजी चामल, एक केजी गहुँ अनि एक लिटर मट्टीतेल पाउछन्। यति थोरैले के परिवार पालन सकिन्छ? परिवार त के यतिले एक्लो जिउ पालन पनि हम्मे-हम्मे पर्छ। त्यही दुई केजी चामल पनि बितेको दिसेम्बेर महिनामा घटेर १ केजी २५० ग्राम पुग्यो। कसरी प्रति व्यक्तिको हिस्सा बाट एकैचोटी ७५० ग्राम चामल घट्यो? यसको उत्तर कसैकोमा छैन वा कुनै दफ्तरमा पनि पाईएन।

     आधा पेट खाएर अनि कुपोषणको सिकार बन्दै पनि सक्नेहरू त्यही छेवको डिमडीमा खोलामा गीटि कुट्न जान्छन्। दिनको ३५ देखि ५० रुपियाँको मजदुरीमा श्रमिकहरू घाम, पानी, शीत केही नभनी काम गर्नु पर्छ। बगान बन्द भए पछि गठन भएको कमिटिले चियापत्ती उठाएर ठेकादारलाई दिने गरिरहेको छ। त्यही कमिटिले पनि दिनको मात्र ३५ रुपियाँ दिनेगर्छ।

     सन् १९११-मा ५०० एकर जमिन लिई सुरु भएको यो चिया बगानमा अहिले सम्म खान नपाएर, कुपोषण अनि राम्रो उपचार नपाएर ८२ जनाको मृत्यु भैसकेको छ। बितेको दुई महिनामानै १५ जनाको मृत्यु भयो। पाँच महिना बन्द भएको दलमोड़ चिया बगानमा भोकमारीले १३ जनाको मृत्यु भयो।

     सन् २०००-मा बगान लाभमा चलिरहेको थियो। तर दुई साल पछिनै बगान घाटामा चलिरहेको छ भन्दै बगानको सबै मशिन लगायत श्रमिकको तलब काटेर जमा नगरिएको पि.एफ-को १ करोड पैसा लिई मालिक रफुचक्कर भयो। २००४ सालमा अर्को मालिकले बैङ्कबाट १२ करोर ऋण लिई ढेकलापाड़ा समेत अरू ६ वटा बगान हातमा लिए। नयाँ मालिक तीन महिनामै भागे। अहिले तिनी एता-उति देखिए पनि पुलिसले भने उनलाई खोज्न सकेको छैन।


     पहिलेको सरकार होस् वा अहिलेको, श्रमिकहरूले आश्वासन भने धेरै पाइरहेका छन्। तर के आश्वासनले पेट भरिन्छ?

     २८ दिसम्बर नगराकट्टामा एउटा जनसभामा भन्दाखेरि मुख्यमन्त्रीले बन्द चिया बगान खोल्नबारे आफ्नो जिम्मेवारी अस्वीकार गरेकाछन्। किनभने बगानहरू निजी मालिकको हातमा छ! चिया बगानको मजदुरहरुलाई खासजमीन (vest land) बाट्ने आश्वासन यसचोटि उनीबाट आएको छ, त्योपनि सायद आउँदो पंचायत चुनावलाई सम्झेरमात्र। अब हेर्नुपर्छ यो आश्वासन कति हदसम्म कार्यन्वयन हुन्छ। तर मुख्यमन्त्रीले छेउछाउमा रहेका बगानका मजदुरहरुका कुपोषण बारे कुनै कुरा गरेनन्, ढेकलापाडा अनि दलमोड़ बगानमा भएको भोकमरीले मृत्यु बारे पनि उनीले एउटा शब्द खर्च गरेका छैनन्।

     कोही गिट्टी कुटछन् त कोही दिनको ३५ रुपियाँमा पत्ति टिपेर ओ.एम.सी. कमिटि कहाँ जम्मा गर्छन् अनि कोही वरिपरीका जङ्गलबाट दाउरा ल्याउने काम गर्छन्। यति गर्दा पनि तिनीहरुलाई परिवार चलाउन धेरै गाह्रो पर्छ र कमिटिले दिने दर अनि कहिले सम्म यो कमिटि चल्ने छ, यो निश्चित छैन।

     बगान बन्द भएको यो दश वर्ष बिच धेरैले आफ्नो परिवारको सदस्य गुमाए, कतिले आफ्नो शिक्षा बन्द गर्नु पर्योम भने धेरै केटीहरू समाजको अंधकार पाटोमा हराए। बगानमा केही घटना घट्दा मिडियामा हो-हल्ला मचिन्छ, आश्वासनको बाडी आउछ। तर भोलि भने जस्ताका त्यस्तै।

     श्रमिकहरुले इच्छा मृत्यु गर्ने अधिकारको निम्ति आवेदन पत्र पठाएको खबर प्रकाशित हुनको साथ-साथै जिल्ला न्यायाधीशको निर्देशमा ढेकलापाड़ा चिया बगानको नेपानिया डीभिजनमा प्रति मानिस १२ के.जि चामल लिई बी.डी.ओ. पुगे। १० वर्ष बन्द हुँदा पनि सरकारले केही नगरेको रिस श्रमिकहरूले बी.डी.ओ. लाई त्यही चामलको झटारो हानेर देखाए।

     हालैमा दलमोर चिया बगानकी टुल्की अलिइको दिल्लीमा मृत्यु भयो। चिया बगान बन्द भएको खण्डमा टुल्की उसको दिमागी सन्तुलन बिग्रिएको पतिलाई छोडेर कामको खोजीमा दिल्ली गएकी थिई। प्रत्यक वर्ष टुल्की जस्ता अरू धेरै आइमाई एवं पुरुष आफ्नो परिवार अनि गाउँ छोडी पलायन लाग्न बाध्य बन्दछन्। त्यसोभए सरकार के को निम्ति? के बन्द चिया बगानका जनसाधारण सरकारको चिन्ताको विषय होइन? सरकारको सहायता त टाडोको कुरो, विभिन्न सरकारी जनविरोधी नीतिहरुले क्षतिग्रस्त भएका छन् देशका खटि खाने जनता।

     नोर्थ बंगल मेडिकल कोलेज एण्ड होस्पिटलमा भर्ना भएका ढेकलापाड़ाका रोगिहरुलाई ठिक नभई घर पठाइन्छ। उनीहरूले न त चिकित्सा पाउछन् न त बिना शुल्क पाउने औषधिहरु नै। सरकारको यस्तै कुराहरूले यो व्यवस्थाको खोक्रोपन देखाउँछ र व्यवस्थामाथि ठुलो प्रश्नचिन्ह लगाउँछ। हालैमा सिलगडीका एम.एल.ए.- रुद्रनाथ भट्टाचार्यले उक्त अस्पताल भ्रमण गर्दै सबै बन्द बगानका रोगीहरुलाई नियमित चिकित्सा अनि निःशुल्क औषधिहरु दिने आश्वासन दिए, बगान निवासीहरुले आश्वासन धेरै पाउछन्, यो आश्वासनहरु कति झुटो अनि कति साँचो यिनीहरूलाई थाहा छ।

     बगान बन्द भएको खण्डमा यिनीहरू सबैलाई भत्ता दिनुपर्छ, भत्ता पनि बढाएर रू ३००० हुनुपर्छ। भत्ता ५८ वर्ष उमेरमा बन्द हुन्छ— यस कानुनलाई बदल्नुपर्छ, पीएफको बन्दोबस्त नहुनसम्म यो भत्ता दिनुपर्छ। बन्द कमानका मजदुर परिवार सदस्यहरूको स्वस्थ एवं शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ। बन्द बगानको श्रमिकहरुलाई बी.पि.एल. कार्ड दिनुपर्छ अनि सबैभन्दा महत्वपुर्ण त बन्द चिया बगानका मालिकहरुलाई बन्द बगान खोलने दबाव दिनुपर्छ। श्रमिकहरूको पनि यही माँग - कमान खोलियोस्, अनि उनीहरूले काम पाओस। 
गुञ्जन राणा





No comments:

Post a Comment