Tuesday, October 30, 2012

हाम्रो देश, हाम्रो युवासमाज!!


तत्कालिन भारतवर्षको सामाजिक-आर्थिक, राजनैतिक र संस्कृतिक अवस्थाहरूको सन्धर्भमा, युवाहरूले बढी मात्रामा असमानता र शोषण संगसंगै जात-लिंग-राष्ट्रियता इत्यादिमा आधारित विभिन्न थिचो-मिचोको सामना गर्न परिरहेको छ। १९४७ देखिने देशको वृद्धि र विकासको ढाँचा यहाँका धनी जमिन्दार र पूंजिपतिहरूको हितमा रहेको देखिन्छ जसले साधारण किसानहरू र मजदुरहरूको ठूलो समुहलाई बेरोजगारीतर्फ धकेल्ने काम गरेको छ। वर्तमान बेरोजगारीको विकासको ढाँचा भने अन्तराष्ट्रिय बजारको लोभी र शोषणकारी शर्तहरूमा टिकेको छ जस्तै GDP को बढ्त, कम्ति पुँजीपतिहरूको निम्ति विशाल नाफा, एकातर्फ नवधनाड्यहरूको उत्पत्ति र अर्को तर्फ श्रमिक-किसान र विद्यार्थी- युवाहरू र साधारण जनताको निम्ति अन्तहीन पीडा र वेदना। तर, यो असमानताको विरोध गर्न त परै जाओस्, देशको युवासमाज आज मुख्यतः उनीहरूको दैनन्दिनको समस्या र निराशाको घेरामा घोट्टिरहेका छन्। हाम्रो पिँडीका युवा-युवतीहरूको निम्ति एउटा आदर्शलाई बोकेर बाँच्नु र त्यसको निम्ति बलिदान दिनु जस्ता कुराहरूको कुनै अर्थ छैन। तर, शासन र शोषणको जुन बोझ मानिसको काँधमा झन् गाडिन्दै जादैछ — त्यसलाई उखालेर फ्याकी मुक्त मानवको एउटा समाज निर्माण गर्न जरूरत छ,  नयाँ मानिस निर्माण गर्न आवश्यक छ। नियम अनि अराजकताको चल्ती धारणा, समाजमा चलिरहेको नैतिकता, मान्यताहरू  र देशप्रेमको संज्ञालाई बंगाएर आफ्नो स्वार्थ-पूर्ति गर्ने सरकारको नीतिलाई रामरी बुझ्न जरूरत छ युवाहरूको। धेरै युवा-युवतीहरू  नयाँ समाज निर्माण गर्ने सपनाहरू मुटुमा बोकेर पनि बाँच्न चाहन्छन्। अँध्यारोको गर्भ च्यातेर बिहानीको घामलाई चियाउने काम त युगयुगदेखि युवाहरूलेनै गरेका छन्।

     हाम्रो देशको जनसंख्याको एउटा विशाल अंश युवासमाज हो, जो अवश्यनै देशको सम्पदा हो। तर अशिक्षा औ बेरोजगारीको अभिशाप देशको युवावर्गको आङमा दस मनको भारी जस्तै भएर बसिरहेको छ। आधिकारिक रूपमा शिक्षाको अधिकार विषयमा जेसुकै लेखिएता पनि सही शिक्षाको अधिकारबाट देशको अधिकतर युवायुवतीहरू  आजपनि वञ्चितनै छन्। पहिलो कक्षामा भर्ना लिएको दश छात्र छात्रीहरूमध्ये नौजना कलेज पुग्न अघि पढ़ाई छोड्न वाध्य हुन्छन्। कलेज विश्वविद्यालयमा पढ़ाईको खर्चपनि दिन-प्रतिदिन बढ़िरहेछ। सरकारले बिस्तारै शिक्षाको क्षेत्रबाट आफ्नो हात हटाईरहेको छ अनि निजि कलेज विश्वविद्यालयहरूले जोड़-तोडले व्यापार बढ़ाईरहेकोछ। सजिलो शब्दमा भन्नु हो भने पढ़ाई अहिले एउटा हातले दिएर अर्को हातले लिने व्यापार बनिसकेको छ। यसकारण शिक्षाको उपभोगबाट समाजको एउटा ठूलो अंश वञ्चित बनिरहेको छ। अनि जसले पढ़्न पाई रहेका छन् –देशको शिक्षा व्यवस्थाले उनीहरूलाई समाजविलगता अनि उपभोगतावादी मानसिकता दिन चाहिरहेकोछ।

     देशको सर्वसाधारणको सर्वांगीण विकास औ रोजगारको लक्ष्यमा पुग्न निम्ति देशको सम्पदाको उपयोग गरी जुन श्रमनिवेश औधोगिकरणको आवश्यकता थियो, त्यो हाम्रो देशको सरकारहरूले कहिल्यै गरेन। अहिले कृषि भुमि अनि बसोबासो गर्ने जमिनबाट मानिसहरू लाई विस्थापित गरी जुन पुँजी निवेश औधोगिकरणको प्रक्रिया चलिरहेकोछ त्यसले गर्दा जत्तिले रोजगार पाईरहेको छ, त्योभन्दा ज्यादा बेरोजगार भइरहेकोछ। विगतको २० वर्षमा उदारीकरण-निजिकरणको कारणले गर्दा दरिद्रता, बेरोजगारी, आर्थिक असमानता चरममा पुगिसकेको छ। विभिन्न सरकारी क्षेत्रहरूमा रोजगार एकदमै बन्द भइसकेको छ। तरैपनि शिक्षा, स्वास्थ्य, रेल इत्यादि विभागहरूमा धेरै पदहरू  खाली छन् तर त्यसलाई भर्ने काम भने भइरहेको छैन। त्यसैमाथि फेरी एक पछि एक आर्थिक सुधारको आक्रमण भइरहेको छ।

     ग्रामीण क्षेत्रहरू मा कृषि गर्दा नाफा हुन सकेको छैन। ग्रामीण क्षेत्रको निम्ति सरकारले नाना थरीको कैयों देखावटी राहत योजनाहरू  लिएर आए तापनि यी जम्मै योजनाहरू जस्तै कि सय दिने रोजगारको योजना, असीमित भ्रष्टाचार औ भाइ-भतिजावादको गुँड बनेको कुरा सबैलाई थाहै छ, यसकारण गाउँघरबाट युवाहरूको एउटा विशाल अंश कामको खोजीमा दिल्ली, बम्बई, गुजरात, बेंगलोर गईरहेछ। यसमा पनि जहाँ काम गर्न गईहेछन् त्यहाँ न्युनतम ज्यालामा १०-१२ घण्टा काम गरेर रात सानो अन्धकार कोठामा बिताउन पर्ने बाध्यता पनि यथार्थनै हो। शहरको गगनचुम्बी अट्टालिका औ शपिंग मलको रम झम पछि हुने गर्छ सागुरो झोपड-पट्टि, जहाँको अस्वस्थ परिवेशमा असंगठित लाखौ मेहनतकश मानिसहरू  बस्ने गर्छन्।

     पाँच वर्षको अन्तरालमा चुनाउ अघि आश्वासनको लहर उठ्छ अनि चुनाउ पश्चात यसको रूप बदलिन्छ। यो देशको सरकारी नीति टाटा, बिडला, अम्बानी औ विश्व बैंकको निर्देशनमा तयार हुने गर्छ। त्यसैकारण केवल मुकेश अम्बानीलाई कर राहत दिनको निम्ति देशको आयकर कानुन बदलिइन्छ, लाभदायी सरकारी संस्थाहरू लाई निजि मालिकहरूको हातमा सुम्पिदिइन्छ, सरकारी स्वास्थ्य परिसेवाहरू जानीबुझी दिन प्रतिदिन निष्क्रिय बनाइन्दैछ जसले गर्दा गैर-सरकारी अस्पतालको मालिकहरूले नाफाको पहाड बनाँउन सकोस्। देशको जल-जंगल जमिन औ खनिज सम्पदा देशी विदेशी लुटेराहरूको हातमा कम भन्दा कम दाममा बेचिन्दैछ। अनि यसको विपरीत जहाँ विरोधको आवाज उठिरहेछ त्यहाँ त्यसको दमन गर्नको निम्ति नाना थरीको अगणतान्त्रिक ऐनहरू  अनि प्रशासनिक आक्रमण आईरहेको छ। जनसाधारणको सेवा गर्नुको साटो हाम्रो देशको राज्य व्यवस्थाले खाद्य, वस्त्र, वासस्थानको औ आत्मसम्मानको निम्ति आन्दोलन गर्नेहरूलाई हिंसक रूपले दमन गरिरहेकोछ। वास्तवमा यो देशको राज्य व्यवस्थाले हाम्रो देशको जनतालाई कुनै दिन पनि साँचो रूपमा स्वतन्त्रताको उपभोग गर्न दिएको छैन। यसैकारण आज देशप्रेमको अर्थ यहि सडेको समाज व्यवस्था औ अत्याचारी राज्यव्यवस्थाको विरूद्ध विद्रोह गर्नु हो।

     विगतमा हामीले धेरै युवा आन्दोलनहरू  सरकार- संचालित वा भोटको मुद्दाको वरिपरि रूमलिरहेका पाएका छौ। यस प्रकारको राजनीति भनौ वा युवा समाजलाई प्रतिनिधित्व गर्ने जमातको हरेसलाग्दो स्थिति देखेरनै साधारण युवाहरूको मन पनि मरेर आउँछ। राजनीतिको एकै प्रकारको रितीरिवाज जस्तै आ-आफ्नो ठाउँमा दादागिरि देखाउने र अराजकता फैलाउने अनि क्षमतामा आउनलाई समस्याहरूको समाधान गरिदिने आश्वासन इत्यादि देखेर युवाहरू राजनीतिभन्दा कोशौ टाढा भाग्ने गर्छन्। तर शासकको निरन्तर धम्कि र आश्वासनको सामु आखा चिम्म गरेर बस्नुभन्दा बरू कुर्सीको राजनीतिबाट अलग भएर समाजलाई अघि बढाउनको निम्ति आज काँधमा काँध मिलाएर अघि आउने कठिन बाटोहरूमा हिड्न, संघर्ष गर्न जरूरी छ।

     वैश्विक पुँजीको बढ्दो प्रकोपले युवाहरूको एउटा अंशलाई अत्यन्त भोगवादी र व्यक्तिवादी कपटिपनामा जकडी रहेको भए तापनि समाजको पछौटेपन दर्शाउने धर्म, अन्धविश्वास, कर्म-काण्ड, चेतनाहिन विश्वासहरू भने जस्ताको त्यस्तै छन्।

     पुरुषप्रधान समाजले देशका नारीहरूलाई चारैतर्फबाट घेरिरहेको छ।  पुरुषप्रधान समाजको विभिन्न रूपहरू जस्तै दाइजो प्रथा, कन्या-भ्रूणहत्या, बालिका-विवाह, पत्नीहरू गरिने गरेलु हिंसा, बलात्कार, यौन-शोषण र भर्खरै विकसित भइरहेको सुन्दरी प्रतियोगिता, पोर्नोग्राफी, सेक्स टुरिजम इत्यादी समाजमा ताजै देख्न पाइन्छ। सरकारले सामान्य केहि नियमहरू बनाएर यस्तो मुद्दाबाट हात झड्काल्छ भने नारीहरूको उचित भूमिकाको निम्ति के-कस्तो ढाँचागत परिवर्तनहरू ल्याउनुपर्छ भन्ने कुरोमा एकदमै शून्य छ। यसैको लागि हाम्रा युवा समाजलाई अघि आएर बिद्यमान लैगिक र  जात-पातको भेद-भावको विरोधमा उभिन पर्छ, उत्पीडित जाति समूहको आत्मनिर्णयको अधिकारको प्रश्नमा युवा सम्प्रदाय अघि आउनु पर्छ।

     देश- विदेशका शासकहरूद्वारा आर्थिक मन्दीलाई गरीब र साधारण मानिसहरूमाथि थोप्ने कामले कम्ति सामाजिक सुरक्षा र बेसी भोक बढेको छ। यस्तो अवस्थमा वर्तमान शोषणले भरिएको समाज व्यवस्थालाई हाँक दिन एउटा संगठित शक्तिको आवश्यकता पर्न जान्छ अनि समाजको आमुल परिवर्तनको निम्ति संघर्षको आगोलाई बाली राख्नुमा युवाहरूको महत्वपूर्ण भूमिका रहन्छ।
धुनिराज छेत्री

No comments:

Post a Comment